शुक्रबारको घटनाबाट नयाँ पुस्ताले राजतन्त्रको निरंकुशता र दमन थाहा पाएः महासचिव पोखरेल



काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले शुक्रबार (चैत १५ गते) भएको पूर्वराजा समर्थकहरूको आन्दोलनबाट क्षति पुगेकालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत आन्दोलनका नाममा नियोजित रूपमा परिचालित आपराधिक जत्थाको तोडफोड, आगजनी र लुटपाटबाट पीडित भएकालाई राज्यका तर्फबाट यथोचित सम्बोधन आवश्यक रहेको बताए।


महासचिव पोखरेलले जनतालाई आतङ्कित बनाउने आपराधिक घटनामा संलग्न व्यक्ति तथा तिनलाई उक्साउने र निर्देशन दिने सबैलाई कारकाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

उनले हिजोको घटनामा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते सबैको शीघ्र स्वास्थलाभको कामना समेत गरेका छन् । उनले एकै दिन दुईवटा जनप्रदर्शन भए पनि विपक्षमा रहेको समाजवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा राजावादीहरूको कार्यक्रममा भन्दा धेरै जनताको सहभागिता रहेको जनाए ।

महासचिव पोखरेलले समाजवादी मोर्चाको कार्यक्रम शान्त, मर्यादित एवं सन्देश मुलुक र पूर्वराजा समर्थकहरूको कार्यक्रम हिंसात्मक, प्रतिशोधात्मक, अराजक रहेको उल्लेख गरेका छन् ।

“व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरू आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्दछ । त्यसमा पूर्वराजा समर्थकहरू पूर्णतः असफल भए । बरू उल्टै उनीहरूका क्रियाकलापले राजतन्त्रको निरङ्कुशता र दमन बेहोर्ने नपरेको नयाँ पुस्तालाई त्यसबारेमा थोरै भए पनि बुझ्ने मौका मिल्यो”, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

महासचिव पोखरेलले कसैको निहित स्वार्थ, प्रतिशोध वा दुरासयबाट आजको नेपाली समाज प्रभावित हुँदैन भन्ने सन्देश पुनः दिनुपर्ने आवश्यक रहेको धारणा राखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here