

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फेरि राजावादीहरुलाई वंशको शासन ल्याउने कल्पना नगर्न आग्रह गरेका छन् ।
शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वंशको शासन ल्याउन खोजे त्यसले ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन् ।


उनले जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्वीकार्न तयार नरहेका बताए । उनले भने, ‘अब यो मुलुक शाही वंशतर्फ फर्कन सक्दैन । राणातन्त्रतर्फ र वंश र परिवारको शासनतिर मुलुक फर्कन सक्दैन, जनता स्वाधीन र सार्वभौमसत्ता सम्पन्न भएकाले कसैको दासता स्वीकार्न तयार छैनन् । वंशको शासन ल्याउन खोजे त्यसले ठूलो मूल्य चुकाउनुपर्नेछ ।’
उनले आजको कार्यक्रम कास्टिङ मात्रै भएको बताए । अध्यक्ष नेपालले सत्तामा बस्नेहरुको कमजोरीका कारण जनता असन्तुष्ट बनेका बताए ।
