वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात



वीरगञ्ज (पर्सा) । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयात भएको हो ।

गत आवको आठ महिनाका तुलनामा चालु आवको सोही अवधिमा एक अर्ब ६७ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । गत आवको आठ महिनामा एक खर्ब २० अर्ब ५३ करोडको पेट्रोलियम पदार्थ आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थको आयात र राजस्व बढेको बताए ।


“अहिले पूर्वाधार निर्माणको समय भएकाले पनि पेट्रोलियम पदार्थको आयात बढेको देखिन्छ”, उनले भने । कार्यालयका अनुसार, चालु आवको आठ महिनामा सबै खालका पेट्रोलियम पदार्थको आयातबाट ५० अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । गत आवको सोही अवधिमा ४४ अर्ब ८० करोड राजस्व सङ्कलन भएको थियो ।

चालु आवको आठ महिनामा ६१ अर्ब ४५ करोड बराबरको छ लाख ८५ नौ सय ९१ किलोलिटर डिजेल आयातबाट २७ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख भन्सार प्रशासक लामिछानेले बताए । यस्तै, चालु आवको आठ महिनामा २५ अर्ब ३० करोड मूल्यको दुई लाख ९० हजार तीन सय ८२ किलोलिटर पेट्रोल आयात हुँदा १६ अर्ब ४८ करोड राजस्व सङ्कलन भएको छ ।

चालु आवको आठ महिनामा २४ अर्ब पाँच करोड मूल्य बराबरको २१ करोड ४२ हजार सात सय ८१ किलोग्राम एलपिजी ग्यास आयात भएको छ । यसबाट चार अर्ब ५० करोड राजस्व सङ्कलन भएको छ । गत आवको आठ महिनामा भने १९ अर्ब ५२ करोडको १८ करोड ६८ लाख १२ हजार एक सय २० किलोग्राम एलपिजी ग्यास आयात भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here