

काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौको सिनामंगलबाट करिव ७ किलोग्राम पोलाइन्ड नामक लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
खोटाङको लामिडाँडा–७ घर भई काठमाडौ महानगरपालिका–३१ गौशाला बस्ने २१ वर्षीय सागर श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–५ खोलेसिमल घर भई काठमाडौँ महानगरपालिका–३१ सिनामंगल बस्ने ४५ वर्षीया लक्ष्मी परियारलाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।


उनीहरुले लागूऔषध किनबेच गरिरहेको भन्ने सशस्त्र प्रहरी बल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाको आधारमा लागूऔषधसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। ।
साथै उनीहरुले प्रयोग गरिरहेको दुई थान मोटरसाईकल, ६ थान मोवाइल र केही नगद समेत बरामद गरिएको उनले बताए । उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरीलाई बुझाइएको छ।
यसअघि सशस्त्र प्रहरीले गत फागुन १ गते काठमाडौको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित नयाँ बस्ती र भदौ २२ गते काठमाडौ महानगरपालिका–३२ कोटेश्वरबाट ५÷५ किलोग्राम सोही लागूऔषधसहित तीन युवकलाई नियन्त्रणमा लिएको थियो ।
