रुस र अमेरिकाबीच युक्रेनमा ‘अर्को कदम’ बारे छलफल



किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई बिना शर्त ३० दिनको युद्धविराम गर्न आग्रह गरेको केही घण्टापछि रुस र संयुक्त राज्य अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्ने ‘अर्को कदम’ बारे छलफल गरेको क्रेमलिनले आइतबार बताएको छ।

संयुक्त राज्य अमेरिकाले यस हप्ता साउदी अरबमा वार्ता गरेपछि तीन वर्षभन्दा लामो युद्धमा लडाइँ रोक्न प्रस्ताव गरेको थियो। उक्त प्रस्तावलाई किएभले स्वीकार गरेको थियो।


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै स्पष्ट जवाफ दिएका छैनन्।  झन् केही सर्त सूचीबद्ध गरेर प्रस्तावमाथि ‘गम्भीर प्रश्न’ उठाएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले शनिबार क्रेमलिनलाई युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाए र मस्कोले कुनै पनि युद्धविराममा सहमत हुनुअघि ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार गर्न’ चाहेको बताए।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग गत महिना साउदी अरबमा भएको अमेरिका–रुस शिखर सम्मेलनमा ‘समझदारी कार्यान्वयनका ठोस पक्षहरू’ बारे छलफल गरेको मस्कोले आइतबार जनाएको छ।

फेब्रुअरीमा भएको रियाद भेला मस्कोले आफ्नो आक्रमण सुरु गरेपछि संयुक्त राज्य अमेरिका र रुसबीचको पहिलो उच्चस्तरीय बैठक थियो।

‘सर्गेइ लाभरोभ र मार्को रुबियो सम्पर्कमा रहन सहमत हुनुभयो,’ रुसी विदेश मन्त्रालयले अमेरिकाले सुझाएको युद्धविरामको कुनै उल्लेख नगरी भनेको छ।

विदेश मन्त्रालयका प्रवक्ता टेमी ब्रुसले शनिबार यो जोडीले युक्रेनमा ‘अर्को कदमहरूबारे छलफल गरेको’ बताए।

उनले रुबियो र लाभरोभ ‘संयुक्त राज्य अमेरिका र रुसबीच सञ्चार पुनःस्थापनाका लागि काम जारी राख्न सहमत भएको’ पनि बताए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here