

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद तारामान स्वाँरले ‘सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय’ स्थापनासम्बन्धी कामलाई यथाशीघ्र अगाडि बढाउनुपर्ने माग गरेका छन् ।
बैठकको शून्य समयमा उनले सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको एक वर्षभन्दा बढी भएको भन्दै हालसम्म प्रक्रिया अघि नबढ्नु चिन्ताको विषय भएको बताए । विश्वविद्यालय स्थापनासम्बन्धी विधेयक राष्ट्रियसभाले पारित गरेर प्रतिनिधिसभामा पठाएको बताउँदै प्रतिनिधिसभाको शिक्षा समितिमा उक्त विधेयक विचाराधीन रहेको उनले उल्लेख गरे ।


सांसद स्वाँरले भने, “शिक्षा समितिमा विचाराधीन अवस्थामा रहेको पनि महिनौँ बितिसकेको छ, तर यससम्बन्धमा जुन तिव्रताका साथ काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यसमा ढिलासुस्ती हुनुको कारण के हो रु, संसद्लाई जानकारी होस् ।”
सांसद तुलसाकुमारी दाहालले हवाई क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन सरकारसँग माग गरिन् । उनले हवाईसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको प्रोटोकल र अन्तरराष्ट्रिय नागरिक उड्ययनसँग सम्बन्धित मापदण्ड अनुरुप सरकारले हवाई क्षेत्रलाई व्यवस्थित गर्न हवाई नीति पारित गर्नुपर्ने बताइन् । उनले नेपाल हवाई सेवा प्राधिकरण र नेपाल नागरिक उड्डयन क्षेत्रका दुई वटा विधेयक राष्ट्रियसभामा दर्ता भइसकेको जानकारी दिइन् ।
सांसद दाहालले भनिन्, “सो विधेयकलाई राष्ट्रियसभाले २०७८ साल साउन १८ गते पारित गरी प्रतिनिधिसभामा पठाएको थियो, प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा शून्यमा गएर अहिले फेरि दर्ता भएको जानकारी पाएका छौँ, यसलाई यथाशीघ्र अघि बनाउन अनुरोध गर्दछु ।” उनले विश्वमा हवाई सेवा भरपर्दो साधन भए पनि नेपालमा पटकपटक दुर्घटना भइरहेकाले यो समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद दाहालले हालसम्म ७१ वटा हवाई दुर्घटना हुँदा नो सय ५० जनाले ज्यान गुमाएका जानकारी दिइन् । उनले गत साउनमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाउनु परेको उल्लेख गर्दै हवाई क्षेत्रमा लापरबाही नगर्न सम्बद्ध सबैलाई अनुरोध गरिन् । सो घटना भएको आठ महिना हुँदासम्म छानबिन समितिले प्रतिवेदन ल्याउन नसकेको भन्दै यथाशीघ्र छानबिन प्रतिवेदन ल्याउनुपर्नेमा जोड दिइन् ।
