राष्ट्रियसभाः समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका पर्यटकीय स्थलको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकको शून्य समयमा उनले तनहुँका कतिपय पयटकीय स्थल विश्वमा परिचित रहेकाले भानु जन्मस्थल चुँदिरम्घा, थानीमाई, मिर्लुङकोट, बन्दीपुर र देवघाटको सम्बर्द्धन र विकासका लागि सरकारसँग अनुरोध गरे ।


सांसद मायाप्रसाद शर्माले काठमाडौँको झोर क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट करिब रु २५ करोड रकम बरामद भएको घटनालाई सरकारले निष्पक्ष रूपमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने माग गरे । सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले करिब रु २५ करोड नगदसहित एकजनालाई पक्राउ गरेको थियो ।

सांसद मृगेन्द्रकुमार सिंह यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सहसचिव डा सङ्गीता कौशल मिश्रमाथि सरकारले विभेद गर्न नहुने धारणा राखे ।

सांसद शारदादेवी भट्टले नेपाल विद्य्त् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङका सम्बन्धमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीले राष्ट्रियसभामा जानकारी गराउनुपर्ने माग गरिन् । उनले भनिन्, “एक जना कर्मचारीको कारणले मुलुकमा लोड सेडिङको अन्त्य भयो भन्दैगर्दा लोड सेडिङ अन्त्य गर्न कुन सरकारले के भूमिका निर्वाह गरेको छ भन्ने विषय आमनागरिकले जानकारी पाउनुपर्छ ।”

सांसद सुमित्रा विसीले धादिङसहित मुलुकका विभिन्न जिल्लामा आगालागीका घटना भइरहेका भन्दै वन कार्यालयसहित सरोकार भएका निकायलाई सचेत हुँदै नियन्त्रणमा लाग्न आग्रह गरिन् । उनले भोलिदेखि सुरु हुने एसइई परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सरोकार भएकालाई अनुरोध गरिन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here