

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख ७ गतेदेखि काठमाडौं केन्द्रीत आन्दोलन घोषणा गरेको छ । आज (मंगलबार) बसेको राप्रपाको आन्दोलन परिचालन मूल समितिको बैठकले आगामी चैत २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रदर्शन तथा सभाको आयोजना गर्ने र त्यसपछि २०८२ वैशाख ७ गतेदेखि निरन्तर आन्दोलनमा होमिने निर्णय गरेको हो ।
बैठकको निर्णय सार्वजनिक गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब आफूहरु निरन्तर आन्दोलनमा होमिएको उद्घोष गरे । ‘आजको मूल निष्कर्ष के हो भने आजबाट राप्रपा पूर्ण रुपले आन्दोलनमा होमियो,’– उनले भने ।


साथै, राप्रपाले राजसंस्था, हिन्दु राष्ट्र र संघीयता खारेजीको पक्षमा हुने हुने सबै शान्तिपूर्ण आन्दोलनमा सहभागी हुने निर्णय गरेको छ । ‘बैठकले मुख्यतः तीनवटा कुराहरु गरेको छ । राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र संघीयता खारेजीको लागि ज–जसले आन्दोलन गरेपनि राप्रपाले, त्यो शान्तिपूर्ण र अहिंसात्मक हुनुपर्यो, त्यसमा समर्थन गर्ने । अरुसँग सहकार्य गर्नुपर्यो भने सहकार्यको ढोका पनि खुला राख्ने, सँगसँगै आफ्ना कार्यक्रमहरु पनि अगाडि बढाएर जाने,’– अध्यक्ष लिङ्देनले भने ।
