राजावादीहरुलाई बाबुरामले भनेः ‘१०/२० हजार भाडाका मान्छे उफारेर को डराउँछ’



काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले राजतन्त्रवादीहरुलाई गोबरको संज्ञा दिएका छन् ।

आज घोराहीमा आयोजित एक कार्यक्रममा उनले गणतन्त्र र राजतन्त्रमा गुढ र गोबर जत्तिकै अन्तर रहेको बताएका हुन् । उनले गणतन्त्र गुढ रहेको दाबी गरे । डा.भट्टराईले राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको हल नहुने दाबी गरे ।


नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्ने मुर्खता हुने उनको टिप्पणी छ । उनले नेपालमा राजसंस्था आउँदै नआउने ठोकुवा गरे । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर जानुपर्नेमा जोड दिए।

‘यो गणतन्त्र जनताले लडेर ल्याएको हो । लोकतन्त्रको विकल्प राजतन्त्र वा सैनिक सत्ता हुन सक्दैन । त्यो भ्रममा पर्नु हुँदैन, आउने सम्भावना पनि छैन । कसरी आउँछ ?’ प्रश्न गर्दै उनले भने ।

साथै, उनले यही व्यवस्थाअन्तर्गत रहेर दुई तिहाइ बहुमत पुयाएर संसद्मार्फत नै राजतन्त्र कि गणतन्त्र भन्ने जनमत संग्रहमा जान राजावादीहरुलाई चुनौति दिए । ‘राप्रपा भन्ने पार्टी छ, त्यसले दुई तिहाइ बहुमत ल्याओस् र जनमत संग्रहको माग गरोस् । त्यो बाटोबाट पो जाने हो । १०/२० हजार भाडाका मान्छे उचालेर को डराउँछ ?’ प्रश्न गर्दै उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here