

काठमाडौं । नेपाल बार एशोसिएशनले संघीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध विभिन्न स्थानमा भएका हिंसात्मक गतिविधिप्रति गम्भीर ध्यानाकार्षण भएको बताएको छ । गैरसंवैधानिक, गैरन्यायिक तथा गैरराजनैतिक तरिकाले उच्छृंखल रुपमा राजतन्त्रको पुनर्स्थापनाको आव्हान गर्दै भएको आन्दोलनमा सार्वजनिक एवं नीजि सम्पति, व्यापारिक प्रतिष्ठान, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालयहरु तथा ल फर्ममा तोडफोड, आगजनी र लुटपाट भएकोप्रति बारको ध्यानकार्षण भएको हो । बारले घटनामा संलग्न भएका जोसुकै भएपनि निष्पक्ष छानविन गरी कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकार्षण गराएको छ ।
‘उद्देलित भिडले सृजित गरेको परिस्थितिको कारण आफ्नो कर्तव्यमा खटिएका एभिन्यूज टेलिभिजनका दृश्यसंकलक सुरेश रजक र सोही घटनामा परी सविन महर्जनको मृत्यु भएको हुँदा मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली एवं शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न र सोही घटनामा अन्य कैयौं सुरक्षाकर्मी र सर्वसाधारण घाइते भएको हुँदा घाइतेहरुको उपचारको उचित प्रवन्ध गरी उक्त घटनाको निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीलाई कानून बमोजिम हदैसम्मको सजायको निमित्त राज्य पक्षसँग जोडदार माग गर्दछौं,’– महासचिव अञ्जिता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


हिजो (शुक्रबार) तीनकुनेमा राजावादी समूहको हिंसात्मक आन्दोलनमा २ जना व्यक्तिको ज्यान जानुका साथै प्रहरी, सशस्त्र प्रहरी र प्रदर्शनकारी गरी ११० जना घाइते भएका थिए । प्रदर्शनकारीहरुले विभिन्न व्यक्तिहरुको घर, व्यवसायस्थल र सार्वजनिक सम्पत्तिमा आगजनी तोडफोड र लुटपाट गरेका थिए ।
