

काठमाडौँ । राजसंस्था र हिन्दु राष्ट्रको पुन:स्थापना तथा संघीयता खारेजीको मागसहित भोलि काठमाडौँमा हुन लागेको जनप्रदर्शनलाई राप्रपाले पनि खुलेर समर्थन गर्ने जनाएको छ ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सक्रिय सहभागी हुन पार्टी पंक्ती र आमजनतालाई अपिल गरेका छन् ।


आज एक विज्ञप्ति निकाल्दै श्रेष्ठले पार्टीका तर्फबाट यस्तो अपिल गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘भोलि चैत १५ गते काठमाडौँको तीनकुनेमा हुने प्रदर्शन र आन्दोलनमा सक्रिय सहभागी हुन र आन्दोलनलाई उचाइ प्रदान गर्न पार्टी पंक्ती र आम जनसमुदायलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।’
यसैबीच राप्रपाको नक्कली लेटरप्याड बनाएर प्रवक्ताका नाममा भोलिको आन्दोलन स्थगित हुने भनी भ्रमपूर्ण प्रचार गरिएको श्रेष्ठले बताएका छन् ।
उनले यस कार्यको भर्त्सना गर्दै भ्रममा नपर्न अनुरोध गरेका छन् । समान विचार र उद्देश्य भएका सबैसँग सहकार्य, कार्यगत एकता र मोर्चा बनाएर आन्दोलनको मोर्चामा उभिन पार्टी प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।
