राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ होः उपमहासचिव पोखरेल



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरीराजमणि पोखरेलले राजतन्त्र ल्याउँछु भन्नु असम्भव रहेको बताएका छन् ।

उदयपुरको कटारीमा आयोजित पार्टीको तेस्रो नगर अधिवेशनलाई सम्बोधन गर्दै पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका पोखरेलले लोकतन्त्र, गणतन्त्रका लागि हिजो सबै पार्टीका योगदानको स्मरणगर्दै फेरि सबै मिलेर सुदृढ गणतन्त्रको रक्षा गर्नुपर्ने बताए । हालको अवस्थामा राजतन्त्र ल्याउँछु भन्नु समुन्द्र फर्काउँछु भनेझैँ हुने उनको भनाइ थियो ।


‘हिजो महान जनयुद्ध, बृहत जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलन सबैखाले आन्दोलनको जगमा हामीले गणतन्त्र ल्याएका हौं’ उनले भने, ‘हामीले निर्माण गरेको संविधानमा उल्लेखित गणतन्त्र, समावेशिता, समाजवादको उपलब्धिमाथि प्रहार भइरहेको छ ।’

नेपाली जनताको चेतना धेरैमाथि उठिसकेको भन्दै उनले सबै मिलेर गणतन्त्रको रक्षा गर्नुपर्ने बताए । कार्यक्रममा उनले कटारीका सहिद परिवारलाई सम्मान गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here