

जनकपुरधाम । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले राजतन्त्र भूतमा परिणत भइसकेको बताएका छन् ।शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले राजतन्त्रको विषयमा कल्पना गर्नु भ्रम मात्रै रहेको बताए ।
उनले यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्ने तथा उनीहरूको वास्तविक संसारसँग सम्बन्ध नभएको बताए । अध्यक्ष भट्टराईले वर्तमान राजनीतिक अवस्था, लोकतन्त्रको रक्षा, र आर्थिक क्रान्तिको आवश्यकताबारे आफ्नो धारणा व्यक्त गरे ।


उनले भने, ‘हामी पछाडि फर्किने कुरा हुँदैन । मधेसजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन् र तिनलाई छलकपट गर्न अब कठिन छ । लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुन आवश्यक छ । राजतन्त्र भूत हो— भूत भ्रम हो । यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।’
उनले भ्रष्टाचार र बेथिति सम्बन्धमा प्रस्ट धारणा राख्दै भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजाहरू र राणाहरूको पालामा हुन्थ्यो । तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे । त्यसैले जनतालाई शिक्षित नै गराइएन। अहिले जनताले पढ्न र लेख्न पाएका छन् । केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो । राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो ।’
