

मस्कोले ऊर्जा सुविधाहरूमा आक्रमण अस्थायीरूपमा रोक्न सहमत भएको केही घण्टापछि युक्रेनी नागरिक पूर्वाधारमा रुसी आक्रमण भएको किएभले रिपोर्ट गरेपछि जर्मनीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘खेल खेलिरहेको’ आरोप लगाएको छ ।
‘हामीले देखेका छौं कि पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको यो कथित अभूतपूर्व, उत्कृष्ट फोन वार्तापछि पहिलो रातमा नागरिक पूर्वाधारमा भएका आक्रमण कम भएका छैनन्’, जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले एक टीभी अन्तर्वार्तामा भने, ‘पुटिनले एउटा खेल खेलिरहनुभएको छ । अमेरिकी राष्ट्रपतिको विश्वको एउटा महान् राष्ट्रका लागि जिम्मेवारी हुन्छ र म पक्का छु कि यस्तो समय आउनेछ जब उसले प्रतिक्रिया दिनुपर्नेछ ।’


मङ्गलबार ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा पुटिनले ३० दिनका लागि ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रतिबद्धता व्यक्त गरे पनि युक्रेनसँगको तीनबर्से युद्धमा पूर्ण युद्धविराम गर्न अस्वीकार गरे ।
ताजा आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मस्कोलाई अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाए । अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई किएभले पहिले नै स्वीकार गरिसकेको थियो ।
पिस्टोरियसले ऊर्जा लक्ष्यहरूमा आक्रमणहरू रोक्ने पुटिनको प्रतिबद्धता ‘मूलतः केही पनि थिएन’ किनभने युक्रेनमा त्यस्ता पूर्वाधार पहिले नै ‘सबैभन्दा राम्रो संरक्षित’ थिए भने ।
उनले युक्रेनको सङ्कटग्रस्त सेनालाई पश्चिमी सैन्य र गुप्तचर सहयोग पूर्णरूपमा रोक्नु शान्तिका लागि ‘प्रमुख सर्त’ हुने क्रेमलिनको जिद्दीलाई ‘अस्वीकार्य’ भनेर वर्णन गरे ।
‘यो धेरै पारदर्शी छ’, पिस्टोरियसले भने । पुटिनको उद्देश्य किएभका समर्थकलाई ‘युक्रेनलाई थप समर्थन गर्न र यदि युद्धविराम समयमा वा पछि अर्को आक्रमण भए आफ्नो वास्तविक रक्षा गर्न सक्षम बनाउन’ बाट रोक्ने रहेको पिस्टोरियसले बताए ।
