

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनताका आवश्यकतालाई संविधानमार्फत नै सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ ।
आइतबार बसेको कार्यसम्पादन बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।


उनले सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको बताउँदै यस व्यवस्थाप्रति आफूहरूले प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले राजसंस्थाका सम्बन्धमा भइरहेका प्रदर्शन आवश्यक नरहेको र आफूहरूले त्यसलाई उचित नठानेको पनि स्पष्ट पारे । ‘यसको पक्ष विपक्ष भन्दा पनि हामी संविधानप्रति प्रतिबद्ध छौँ’, उनले भने ।
‘सार्वभौम नेपाली जनताद्वारा निर्माण भएको संविधानले नै गणतान्त्रिक राज्य बनाएको हो’, महतले भने, ‘जनताद्वारा आएको यस व्यवस्थाप्रति हामी पूर्ण प्रतिबद्ध छौँ । संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्त्वाकांक्षालाई सम्बोधन गर्न सकिन्छ ।’






