

झापा । पाँचौँ मेचीनगर गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १-० को गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो ।
जितसँगै चर्च ब्वाइजले नगद रु. १० लाख, ट्रफी र मेडल प्राप्त गरेको छ, भने उपविजेता काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले नगद रु. पाँच लाख प्राप्त गरेको छ । खेलको ११औँ मिनेटमा चर्च ब्वाइजका समीर तामाङले निर्णायक गोल गरेका थिए । खेलको प्लेयर अफ द म्याच चर्च ब्वाइजका समीर तामाङ घोषित भए । उनले नगद रु. ११ हजार प्राप्त गरे ।


प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजकका खमिर गिल्सन कन्दङ्वा घोषित भए । उनले नगद रु. ५१ हजार प्राप्त गरे । सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका अबोयोमी फकुन्ले र मच्छिन्द्रका युसुफ मलिक भए । उनीहरूले जनही नगद रु. २५ हजार र ट्रफ्री पाएका थिए ।
उत्कृष्ट प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनलाई नगद रु. २१ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टिकेन्द्र थापा भए । उनले नगद रु. २१ हजार प्राप्त गरे । उत्कृष्ट डिफेन्स आयोजकका दिवस उराउ घोषित भए । उनले नगद रु. २१ हजार प्रदान गरिएको थियो ।
उदियमान खेलाडीको पुरस्कार आयोजकका पर्शु राईले पाए । उनलाई नगद रु. १५ हजार प्रदान गरिएको थियो । फागनु २४ गतेदेखि सुरु प्रतियोगितामा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, धरान फुटबल क्लब, झापा एफसी, सशस्त्र प्रहरी बलको एपिएफ एफसी, जर्जियन फुटबल क्लब भारत र उज्वेकिस्तानको ब्ल्याक बुल्स सहभागी रहेका थिए ।
यसैबीच, सोही समारोहमा फुटबलका माध्यमबाट मेचीनगरलाई चिनाउने विभिन्न राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको थियो । सो अवसरमा सम्मानित हुनेहरूमा संगीता राउत, सन्देश श्रेष्ठ, नरोत्तम गौतम, लुना प्रधान, लीला थापालगायत रहेका थिए ।
