

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी मण्डलेहरूले तीनकुने क्षेत्रमा आतङ्क मच्चाएको बताएका छन् । भ्रष्टाचार, बेथिति र प्रतिगमनविरुद्ध शुक्रवार काठमाडौँको भृकुटीमण्डपमा चार दलीय समाजवादी मोर्चाले आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले चैत १५ नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण दिनका रूपमा अङ्कित भइसकेको भन्दै गणतन्त्रवादीहरुले कार्यक्रम राखेपछि प्रतिगामीहरूले पनि कार्यक्रम जुधाएर आतङ्क मच्चाएको बताए ।


‘एकातिर राजावादी र अर्कोतिर गणतन्त्रवादीको आन्दोलन । पहिला हामीले आजको दिन कार्यक्रम राखेपछि उनीहरूले कार्यक्रम जुधाउँदा नै वातावरणलाई धमिल्याउने र उत्तेजित पार्ने मनसाय देखिएकै थियो’, प्रचण्डले भने, ‘१२ वर्ष कुकुरको पुच्छर ढुङ्ग्रामा हाले पनि बाङ्गै जस्तो भएको छ तीनकुनेको सभा ।’
प्रचण्डले मण्डलेहरूले अराजकता मच्चाएको भन्दै उनीहरूले व्यक्तिको घरमा आगो लगाएको र प्रहरीलाई नै आक्रमण गरेको बताए ।
‘निरङ्कुश प्रतिगामीको प्रतीक मण्डलेहरूले व्यक्तिको घरमा आगो लगाए, प्रहरीलाई ढुङ्गा प्रहार गरेका छन्’, प्रचण्डले भने, ‘उनीहरूले चाहेका छन् केही एक दुई जना मान्छे मरुन् र देशभरि आतङ्क फैलियोस् भन्ने चाहेका छन् ।’ पूर्व प्रधानमन्त्रीले त्यो राजावादीहरूको चरित्र नै भएको पनि बताए ।
प्रचण्डले नेपालका राजनीतिक दलको उदारतालाई कमजोरी ठानेर फेरि अर्को गल्ती गर्ने प्रयास नगर्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिँदै सामन्ती निरंकुश पक्षधरका सपना चकनाचुर पार्ने बताए ।
