

भैरहवा । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ सम्पन्न भएको छ । भैरहवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हुँदै लुम्बिनी गेटमा समापन भएको थियो ।
लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरे । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।


थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताए ।
अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने छ ।
धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्म यात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो । बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर श्रावणेर बनेका हुन् ।
नयाँ भिक्षुलाई धार्मिक र आध्यात्मिक शिक्षा दिनका साथै समाजमा सहिष्णुता र समानताको मूल्य स्थापित गर्न र विशेषगरी युवापुस्तालाई प्रोत्साहित गर्न भिक्षु प्रवज्या कार्यक्रम महत्त्वपूर्ण हुने गरेको छ । धम्मकाय फाउन्डेसनको आयोजनामा भएको धम्म यात्रालाई बौद्ध समाज नेपालले सहजीकरण गरेको थियो ।
भगवान् गौतमबुद्ध फागु पूर्णिमाको दिन ज्ञानको प्राप्ति गरेकाले फागु पूर्णिमाको नजिक पर्ने गरी गत वर्षदेखि धम्म यात्रा गरिँदै आएको छ । गौतमबुद्ध ज्ञान प्राप्तिपछि बुबालाई भेट्नका लागि फर्किँदा अहिलेको भैरहवा क्षेत्र रहेको स्थानबाट नै फर्केका कारण भैरहवामा धम्म यात्रा गराइएको बौद्ध समाज नेपालका केन्द्रीय अध्यक्ष शङ्कर गाहाले बताए ।
यसरी प्रवज्या हुनेमा रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, दाङका साथै म्यानमार, थाइल्यान्ड, श्रीलङ्का, इन्डोनेसियालगायत रहेको बौद्ध समाज नेपालका वरिष्ठ उपाध्यक्ष हरिओम विश्वकर्माले बताए । उनले धम्म यात्राका क्रममा श्रामणेरहरूले बुटवल, बुद्ध मावली देवदहलगायत क्षेत्रको पनि भ्रमण गर्नुभएको जानकारी दिए । लुम्बिनीमा सन् २०११ मा एक हजार, २०१५ मा एक हजार एक सय १२, सन् २०१९ मा एक हजार एक सय १९, सन् २०२३ मा पाँच सय र सन् २०२४ मा एक हजार दुई सय ५० जनालाई प्रव्रज्या गराइएको थियो भने यो वर्ष पाँच सय जनालाई प्रव्रज्या गरिएको छ ।
