

काठमाडौँ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । आज जमलस्थित विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा अभिनेता पुष्प खड्का, अभिनेत्री सहारा कार्की र निर्देशक फिरोज तिमिल्सेनाले संयुक्त रूपमा सो गीत सार्वजनिक गरेका छन् ।
निर्देशक तिमिल्सेनाले गायक श्रेष्ठले सुनाउँदा नै गीत मन परेकाले यसलाई श्रव्यदृश्य बनाएर सार्वजनिक गरिएको स्पष्ट गरे । उनले भने, “केही समयदेखि म नेपाल बाहिर छु । हामी प्रवासमा रहे तापनि नेपाली गीतसंगीत र संस्कृतिप्रति अगाध माया छ । यसै सन्दर्भमा गायक श्रेष्ठले सुनाएको गीत मन परेपछि नेपाल आएर श्रव्यदृश्य बनाएर सार्वजनिक गर्ने सल्लाह भएबमोजिम आज पत्रकार सम्मेलन गरेका हौँ । यो गीत हेर्नेभन्दा पनि बढी सुन्ने किसिमको छ ।”


उनले मकवानपुरको कुलेखानी आसपासका दृश्यमा गीतको शब्दको भाव झल्किने किसिमले श्रव्यदृश्य तयार गरेको जानकारी दिए । यस गीतमा देखिएका अभिनेता खड्काले अभिनेत्री कार्कीसँग ‘दर्पण छायाँ २’ चलचित्रपछि काम गर्दा पुराना दिन स्मरण गरेको बताए।
“हामी अभिनेता र अभिनेत्रीका हैसियतले एकै चलचित्रबाट आफ्नो अभिनय यात्राको सुरुआत गरेका थियौँ । आज आठ वर्षपछि पुनः गीतको श्रव्यदृश्यमा देखिन पाउँदा खुसी छु । अभिनेत्री कार्की र निर्देशक खड्का प्रवासमा रहेर पनि नेपाली गीतसंगीतप्रति लगाव राख्नुहुन्छ, यसमा उहाँहरूले देखाउनुभएको माया र सद्भाव अनुकरणीय छ,” अभिनेता खड्काले भने ।
अभिनेत्री कार्कीले सुरुआती चलचित्रमा काम गर्दा नै अभिनेता खड्कासँग सहज लागेको स्मरण गर्दै उनले भने, “अभिनेता खड्कासँग काम गर्दा छुट्टै उत्साह थपिन्छ । उनको मेहनती स्वभावले म जस्तो नयाँ कलाकारलाई पनि काम गर्ने ऊर्जा मिल्छ । यो गीत सार्वजनिक नहुँदै मैले सुनिरहनेमध्येको एक थियो, त्यसकारण श्रव्यदृश्यमा अभिनय गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेकी छु ।”
गीतको श्रव्यदृश्यमा गीता अधिकारीले पनि अभिनय गरेकी छन् । श्रव्यदृश्यमा अर्जुन तिवारीले छायाङ्कन, विकास दाहालले सम्पादन, राजेन्द्र मोक्तानले रंग संयोजन र ज्योति केसीले शृङ्गार गरेका छन् ।
