


काठमाडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य शिशिर खनालले नागरिक उड्डयन प्राधिकरण र वायु सेवा निगमका दुई अधिकारी नियुक्ति प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल र पूर्व पर्यटनमन्त्री प्रेम आलेमाथि समिति बनाएर छानविन गरिनुपर्ने बताएका छन् ।
आज (सोमबार) अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको नियुक्ति प्रकरणमा तत्कालीन मन्त्री आले र पूर्व प्रधानमन्त्री खनालसँग जोडिएर विभिन्न कुराहरु आइरहेकाले उनीहरुमाथि समिति नै बनाएर छानविन गर्न माग गरेका हुन् ।


तत्कालीन मन्त्री आलेले पार्टीका सम्मानित नेता खनालको दबवामा प्राधिकरण र निगममा प्रमुख नियुक्त गरेको अभिव्यक्ति दिएका थिए । ‘पूर्वमन्त्री प्रेम आलेले लेखा समितिमा दिएको धारणाबारे छानबिन गर्नुपर्छ । उहाँको धारणा नियुक्तिसँग जोडिएको भ्रष्टाचारको विषयसँग सम्बन्धित छ,’– समितिमा आफ्ना भनाइ राख्दै नेता खनालले भने ।
प्राधिकरण र निगममा नियुक्ति हुँदा भ्रष्टाचार भएको विषय पूर्वमन्त्री आलेले स्विकार गरिसकेको भन्दै नेता खनालले यसमा समिति नै बनाएर छानविन गर्न उपयुक्त हुने बताए ।
