प्रधानमन्त्री ओलीको प्रश्न- कुलमानले बिजुली, चिम र ट्रान्समिसन लाइन कहिले बोकेर ल्याए ?



काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबारे नेकपा (माओवादी केन्द्र) र त्यस पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रम छरेको आरोप लगाएका छन् ।

आज (मंगलबार) सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ आत्मकथा विमोचन समारोहलाई सम्बोधन गर्दै उनले कुलमानलाई महाकवि लक्ष्मीप्रसाद कोइरालाले लेखेको महाकाव्य ‘प्रमिथश’ को पात्र प्रमिथशजस्तै ब्याख्या गर्न खोजिएको बताएका हुन् । पृथ्वीमा आगो ल्याइदिएवापत प्रमिथश पात्रलाई हजारौं वर्ष ढुङ्गाहरुको चेपमा कैद गरिएको प्रसंग उल्लेख गर्दै उनले माओवादीले पनि कुलमानलाई सोहीअनुरुप ब्याख्या गर्न खोजेको टिप्पाणी गरे । यस्ता प्रकारको भ्रममा नपर्नसमेत उनले सबैलाई आग्रह गरे ।


‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको एउटा महाकाव्य छ– प्रमिथश । प्रमिथश भनेको देवताका अनेक भाइहरुमध्ये एक भाइले आगो चोरेर पृथ्वीमा ल्याए । त्यसवापत उनलाई हजारौं वर्ष ढुङ्गाहरुको चेपमा कैद गरेर राखियो । ती मित्रले त्यस्तै गरेर व्याख्या गर्नुभएछ । उहाँले प्रमिथशले जस्तै उज्यालो ल्याउनुभयो । अघिल्लो चार वर्षको कार्यकाल पूरै उहाँले त्यही काम गर्नुभएको थियो । त्यसबेला उहाँले ल्याउनु भएको थियो, कि उहाँले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनु भयो उहाँ ? विजुली बोकेर आउनुभयो, चिम बोकेर आउनुभयो कि ? ट्रान्समिसन बोकेर आउनु भयो कि ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कार, जादुको रुपमा ब्याख्या गर्ने ? कोही पनि साथीहरुलाई यस्ता कुराको भ्रममा नपर्न आग्रह गर्न चाहन्छु,’– उनले भने ।

सरकारले हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएको थियो । कार्यकारी निर्देशक घिसिङलाई हटाउने सरकारको निर्णयविरुद्ध चौतर्फी आलोचना भइरहेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री प्रचण्डले कुलमानलाई हटाउने निर्णय खेदजनक रहेको बताएका थिए । प्रचण्डको सोही प्रतिक्रियालक्षित गर्दै प्रधानमन्त्री ओलीले बरु हाल प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्रदेव शाक्यलाई प्रचण्ड प्रधानमन्त्री भएको बेला निकम्मा बनाएर राखिएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here