प्रधानमन्त्रीलाई रघुजी पन्तको सुझावः मन्त्रीहरू फेर्ने बेला आयो, पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन



काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राप्रपाका सांसद ज्ञानेन्द्र शाहीलाई आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद पन्तले आफ्नो धारणा राख्ने क्रममा राप्रपाका सांसद शाही उठेर विरोध जनाएपछि पन्तले आफूसँग बहस गर्ने हो भने इतिहास पढेर आउन आग्रह गरेका हुन् ।


सांसद पन्तले राजा त्रिभुवन दिल्ली जाँदा विभिन्न ठाउँमा ‘रसरंग मच्चाउन थालेपछि भारतीय प्रधानमन्त्री नेहरुले नै आलोचना गरेको दाबी गरेका थिए । उनले यस्तो बोलिरहँदा शाहीले उठेर बिना प्रमाण आधारहिन कुराहरू संसदमा नबोल्न चेतावनी दिएका थिए ।

उनले राजा महेन्द्रको पालामा नेपालको चुच्चे नक्सा हराउनुका साथै लोकतन्त्रपनि हराएको बताए । उनले राप्रपातर्फ इंगित गर्दै भने, ‘नेपाल दक्षिण एशियामा गरिब छ । राजाको पालामा पनि त झन् गरिब थियो । तपाईंहरु जुलुश निकाल्नुहुन्छ, राजावादीहरुको भनेर । त्यहाँ हेर्दाखेरी सबभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तरप्रदेश, यही हो देशभक्ति ? देशभक्तिको नमूना यही हो ? मैले पढेको इतिहास गलत हो भने पुष्टि गर्न आउनुहोस् ।’ सांसद पन्तले राजतन्त्रको पालमा भएका विभिन्न काण्डको स्मरण गराएका थिए ।

उनले पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे आपत्ति जनाए । यसबारेमा मन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘विशिष्टहरूलाई सुविधा दिनेबारे डेढवर्षदेखि कानुनमन्त्रालयमा ड्राफ्ट भइरहेको छ। मन्त्रीजीहरूको पारा देखेर छक्क परिराछु। हिजो प्रकाशमानजीले पाल्पामा भन्नु भयो–यो अहिले भइरहेको छैन। यही कुरा यहाँ संसद्मा आएर भने भयो नि कसरी बनेको, किन बनेको, के कारणले बनेको भनेर । पटकपटक प्रश्न उठेपछि भन्नुपर्यो नि । म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु–यो प्रधानमन्त्रीय व्यवस्था हो। मन्त्रीहरू फेर्ने बेला आयो । पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन । प्रधानमन्त्रीले पक्कै मूल्यांकन गर्नु भएको होला ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here