

वासिङ्टन । संघीय न्यायाधीशलाई महाभियोग लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आह्वानलाई अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसले सार्वजनिक रुपमा कडा आलोचना गरेका छन् ।
रोबर्टसद्वारा जारी संक्षिप्त वक्तव्यमा उनले दुई शताब्दीभन्दा बढी समयदेखि स्थापित मान्यताअनुरुप महाभियोग न्यायिक निर्णयसँग सम्बन्धित असहमतिको लागि उपयुक्त प्रतिक्रिया नभएको बताएका हुन् ।


ट्रम्पले जिल्ला न्यायाधीश जेम्स बोसबर्गमाथि महाभियोग लगाउन माग गरेपछि रोबर्टसले राष्ट्रपति ट्रम्पलाई ‘असाधारण’ रूपमा आलोचना गरेका हुन् । ह्वाइट हाउसले राष्ट्रपतिका केही कार्यकारी कार्यलाई अवरोध गर्ने जिल्ला अदालतहरूको कडा आलोचना गर्दै आएको छ।
यद्यपि, ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेयता व्यक्तिगत रूपमा न्यायाधीशको महाभियोगको आह्वान गरेको भने यो पहिलो घटना हो । राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मिडियामा भनेका छन्– ‘दुःखको कुरा बाराक हुसेन ओबामाले कट्टरन्थी समाजवादी कार्यकर्ता बोसबर्गलाई ‘एक न्यायाधीश’को रूपमा नियुक्त गरेछन् ।’
