नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन



काठमाडौँ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको म्यानमारबाट बढीभन्दा बढी बुद्धिष्ट पर्यटकलाई नेपालमा आकर्षण गर्ने उद्देश्यले म्यानमागरको याङ्गुनमा बौद्र्ध पर्यटन प्रवद्र्धन गरिएको छ । नेपाल पर्यटन बोर्डले याङ्गुनमा ‘नेपाल–म्यानमार व्यापार तथा पर्यटन एक्स्पो–२०२५’ आयोजना गरी पर्यटन प्रवद्र्धन गर्न थालेको हो ।

नेपाल र म्यानमारबीचको ६५औँ कूटनीतिक सम्बन्धका अवसरमा बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा यही चैत ८ र ९ गते भएको एक्स्पोमा बौद्ध पर्यटन प्रवद्र्धनमा जोड दिइएको बोर्डले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । बौद्ध पर्यटन प्रवद्र्धनका साथै नेपाली पर्यटन उत्पादन, सूचना प्रविधि समाधान तथा अन्य वस्तुहरू प्रदर्शन गरेको हो ।


एक्स्पोमा नेपालबाट १६ र म्यानमारका ३० वटा पर्यटन कम्पनीहरूको सहभागिता थियो । नेपालकोतर्फबाट बौद्ध पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै म्यानमारका पर्यटकलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानमार्फत लुम्बिनी भ्रमण गर्न आग्रह गरिएको विज्ञप्तिमा जनाइएको छ ।

यसका साथै, म्यानमारलाई बैंकिङ तथा वित्तीय प्रविधि क्षेत्रको विकासका लागि सहयोगी बनाउन नेपाली सूचना प्रविधि क्षेत्रलाई प्रस्तुत गरिएको पनि बोर्डले उल्लेख गरेको छ । कार्यक्रमको संयुक्त रूपमा म्यानमारका सङ्घीय मन्त्री यु टुन ओन, म्यानमारका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष शिव अग्रवाल र म्यानमार चेम्बर अफ कमर्सका अध्यक्ष यु ए विनले उद्घाटन गरेका थिए ।

सङ्घीयमन्त्री यु टुन ओनले नेपाल र म्यानमारबीचको व्यापारिक सम्बन्धलाई मजबुत बनाउँदै पर्यटन प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको उल्लेख गरे । उनले दुवै देशका सरकार र निजी क्षेत्रबीच सहकार्य गर्दै पर्यटन विकास, आपसी व्यापार मेला आयोजना र मानवसंशाधन विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

त्यसक्रममा याङ्गुन क्षेत्रका मुख्यमन्त्री यु सो थिन, सरकारी अधिकारी, दुवै देशका व्यावसायिक प्रतिनिधि, म्यानमारस्थित नेपाली समुदाय तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति थियो ।

कार्यक्रमकैबीच नेपाल पर्यटन बोर्ड र म्यानमार टुरिज्म फेडरेसनले आयोजना गरको संयुक्त बैठकमा नेपाल र म्यानमारका पर्यटन प्रतिनिधिहरूबीच सहकार्यलाई बलियो बनाउने विषयमा छलफल भएको बोर्डले जनाएको छ ।

नेपाली दूतावासले कार्यक्रमको दोस्रो दिन नेपाली परिकारहरू जस्तै मोमो, सेलरोटी, आलुको अचार र नेपाली चिया समावेश गरिएको ‘लाइभ फुड स्टेशन’ को आयोजना गरेको हो । म्यानमारमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक प्रमुखहरूलेसमेत नेपाली खानाको स्वाद लिएका छन् ।

त्यसैगरी पर्यटन बोर्डले म्यानमारसँगको सम्बन्धलाई थप सुदृढ गर्दै बौद्ध पर्यटनलाई प्रोत्साहन गर्न र सूचना प्रविधि क्षेत्रमा सम्भाव्यता खोजी गर्न संयुक्त पहल गरिने प्रतिबद्धता जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here