

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकास निर्माणका योजनाहरु तोकिएको समयमा, निर्धारित लागतमा गुणस्तरीय रुपमा सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको बताएका छन् ।
आज (सोमबार) पार्टीनिकट निमार्ण व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय विकास निर्माणका लागि सरकारले पनि ध्यान दिनुपर्ने बताए । निर्माण व्यवसायीहरुको हक हितका लागि पार्टीको तर्फबाट सरकारलाई खबरदारी गर्ने पनि सभापति देउवाले विश्वास व्यक्त गरे ।


त्यस्तै, निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धिको बारेमा आफ्नो गम्भीर ध्यानाकार्ष भएको पनि उनले बताए । मूल्यवृद्धिको समस्या समाधान गर्नका लागि आफू पार्टीको तर्फबाट निरन्तर लागिरहने सभापति देउवाले बताए ।
‘निर्माण सामाग्रीमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभावलगायतका विषयमा पनि मेरो गम्भीर ध्यानाकार्षण भएको छ । यस समस्याको समाधानका लागि आफ्नो तर्फबाट हुने र पार्टीको तर्फबाट हुने कुरामा म लागिरहने छु,’– उनले भने ।
उनले आफू निर्माण व्यवसायीहरुलाई प्रोत्साहन गर्ने काममा सदैव लागिरहने पनि उनले बताए ।
