नाटकघर हुँदै चलचित्रमा अभिनय गर्ने क्रम बढ्दो



काठमाडौँ । केही वर्षयता रङ्गमञ्च हुँदै रङ्गीन पर्दा अर्थात् चलचित्रमा अभिनय गर्ने कलाकारको सङ्ख्या बढ्दो छ । अहिले नेपाली चलचित्रको अग्रपङ्क्तिमा रहेका अभिनेताहरू नाटकघरबाटै उदाउने धेरै छन् । यही सन्दर्भमा रङ्गमञ्चबाट चलचित्रसम्मको यात्राको विषयमा रङ्गकर्मीबीच छलफल भएको छ ।

‘विश्वभरिका कथाहरूको उत्सव नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ भन्ने नाराका साथ गत बिहीबारदेखि काठमाडौँमा जारी ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ) को आठौँ संस्करणमा ‘रङ्गमञ्चबाट रङ्गीन पर्दा’ शिर्षकमा गरिएको अन्तरक्रिया कार्यक्रममा अभिनेता तथा नाट्यकर्मी प्रमोद अग्रहरीले रङ्गमञ्चले आफू र समाजलाई बुझ्न मद्दत गर्नुका साथै कामप्रतिको सम्मान बढाउन तथा अनुशासन सिकाउने बताए।


“अभिनय पढ्नैपर्ने विधा, यसमा अध्यन नभए राम्रो कलाकारिता गर्न सकिँदैन भन्ने मेरो बुझाइ छ । यसले रङ्गमञ्चबाट ठूलो पर्दामा जान मद्दत गर्नुका साथै अभिनयमा विविधता ल्याउन मद्दत गर्छ । रङ्गमञ्चलाई छाडेरभन्दा पनि साथै राखेर रङ्गीन पर्दामा पुग्नेहरू दीर्घायु हुन्छन्”, अभिनेता अग्रहरीले भने । छलफलका क्रममा उनले आफ्नो नाटकघर हुँदै चलचित्र भवनसम्मको यात्राका विषयमा समेत चर्चा गरे ।

छलफलमा सहभागी अभिनेत्री तथा नाट्यकर्मी सरिता गिरीले चलचित्र र रङ्गमञ्च दुवै माध्यममा सङघर्ष र निरन्तरता आवश्यक रहेको बताइन्। “रङ्गमञ्च चलचित्रसम्म पुग्ने एउटा बाटो हो, किनकि यहाँ आएर अभिनय सिकेका अहिले चलचित्रमा सर्वाधिक खोजिने कलाकार बन्नुभएको छ । तर, चलचित्रमा काम गर्छु भनेर नाटकघर आउनेभन्दा नाटकमा काम गर्ने चलचित्रमा स्थापित हुनुभएको छ । त्यसैले हामीले नाटक हुँदै चलचित्रमा पुग्नुभएका कलाकारको सफलतासँगै उहाँहरुले गर्नुभएको सङ्घर्षलाई बुझ्नु जरुरी छ, त्यसले हामीलाई अगाडि बढ्न प्रेरणा दिन्छ”, उनले भनिन् ।

अभिनेत्री गिरीले रङ्गमञ्च नै सपना बोकेर आएका आफ्ना पुस्ताका कलाकार मेहनत र निरन्तरताकै कारण आज चलचित्रमा पुग्न सफल भएका बताइन् ।

अभिनेता तथा नाट्यकर्मी बुद्धि तामाङले रङ्गमञ्च अभिनयमा आफ्नो भविष्य देख्नेलाई बाटो देखाउने माध्यम बनेको बताए। उनले नाटक र चलचित्रको माध्यम फरक भएकाले त्यसलाई एउटै आँखाले हेर्न नहुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here