नसर्ने रोगका बिरामीको पहिचान गर्दै ‘पौवादुङमा’



भोजपुर । जिल्लाको पौवादुङमा गाउँपालिकाले समाजमा लुकेर रहेका नसर्ने दीर्घरोगीको खोजी थालेको छ । अस्वास्थ्य खानपान तथा जीवनशैलाका कारण नसर्ने रोग बढ्ने सम्भावनालाई ध्यानमा राख्दै रोगको न्यूनीकरण तथा रोकथामको लागि गाउँपालिकाले खोजी थालेको हो । 

गाउँपालिकाले अहिले कार्यक्रम नै सञ्चालन गरेर स्थानीयको घर/घरमा पुगेर दीर्घरागीको खोजीसँगै पहिचान गरिरहेको पौवादुङमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र उपाध्यायले जानकारी दिए । गाउँपालिकाका ३० वर्ष माथिका सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण भइरहेको उनले बताए। हालसम्म सात सय जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ ।


“हामीले नसर्ने रोगहरूको पहिचान तथा खोजी गरिरहेका छ” शाखा प्रमुख दाहालले भने,“तीन वटा वडाका सात सय जनाको स्वास्थ्य परीक्षण सम्पन्न गरेका छौँ । यहाँका ३० वर्ष माथिका एक हजार सात सय जनाको स्वास्थ्य परीक्षण गरेर रोगको खोजी गर्ने हाम्रो लक्ष्य छ ।”

हालसम्मको परीक्षणमा यहाँका करिव १५ प्रतिशत नागरिक नसर्ने दीर्घरोगको जोखिममा देखिएको उनले जानकारी दिए । परीक्षणका क्रममा १० जनामा मिगौला समस्या र १५ जनामा महुमेहको लक्ष्य देखिएकाले उनीलाई उपचारको लागि बाहिरका अस्पतालमा पठाइएको शाखा प्रमुख दाहालले बताए।

कार्यक्रममार्फत उच्च रक्त चाप, मिर्गौला, मधुमेह, मोटोपनका कारण लाग्ने रोगका लागि उचाइ अनुसारको तौलको परीक्षण भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। विशेषज्ञ डाक्टररुको उपस्थितिमा ल्याब परीक्षण गरेर नै नागरिकको स्वास्थ्य जाँच भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।“नसर्ने रोगका कारण मानव स्वास्थ्यमा पुर्‍याउने क्षतिको न्यूनीकरणको लागि हामीले त्यस्ता रोगीहरूको खोजी गरिरहेका छौँ” उनले भने,“हामीले सानो सावधानी अपनाउन सकेको खण्डमा यस्ता रोगबाट बच्न सकिन्छ । 

नागरिकलाई सचेतनासँगै नसर्ने रोगको अवस्थाको जानकारी लिन रोगीहरूको खोजी थालेका हौँ । कतिपय मानिसहरूले रोग लुकाएर बस्दा अकालमा ज्यान पनि जान सक्छ । समयमा नै रोग पहिचान, उपचार पद्धति र सजक गराउनका लागि यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।”

अस्वास्थ्यकर खानपिन र जीवनशैलीका कारण वषेर्नी नसर्ने दिर्घरोगको बिरामी बढ्दै गएकाले समयमा नै रोगको पहिचान, रोकथाम तथा बच्ने उपायको विषयमा नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए। योजनाबद्ध रूपमा स्वास्थ्यका अन्य नियमित कार्यक्रम सञ्चालन भइरहेको भएपनि नसर्ने दिर्घरोगको रोकथाम तथा न्यूनीकरणको लागि नागरिकको स्वास्थ्य परीक्षणको काम भइरहेको अध्यक्ष राईले जानकारी दिए। 

 “मानवको स्वास्थ्य नै धन हो” उनले भने,“हाम्रो सानो अवसावधिका कारण ठूलो रोगको सिकार बन्नु परेको अवस्था पनि छ । नसर्ने रोगको तत्काल लक्षण नदेखिने भएकाले बेलैमा रोगको पहिचान र उपचारको प्रक्रिया अघि बढाउन बिरामीको खोजी थालेका हौँ । समयमा नै दीर्घ रोगको पहिचान गरेर रोकथाम तथा बच्ने उपायको विषय जानकारी गराउन अभियान सञ्चालन गरेका हौँ ।”

नागरिकलाई स्वास्थ्य खानपानमा जोड्न आयातित पेय पदार्थको विक्री वितरणमा कडाइ गरिएको अध्यक्ष राईले बताए । गाउँपालिकाले नागरिकलाई पोषणयुक्त खानपानमा प्रोत्साहन गर्न उन्नत जातका गाई, भैँसी वितरण गरिरहेकोसमेत अध्यक्ष राईले बताए । गाउँघरमा पाउने अर्ग्यानिक बस्तुको खानपिन तथा नियमित व्यामले नागरिकलाई स्वास्थ्य रहन मद्दत गर्ने उनको भनाइ छ । “हामीले नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भने,“मानव स्वास्थ्यमा असर गर्ने खालका पेय पदार्थको बिक्री वितरणमा कडाइ गरिरहेका छौँ । बाह्य पेय पदार्थको विकल्पमा दही,मही प्रयोग गर्न नागरिकलाई आग्रह गरिरहेका छौँ । पोषणसँगै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले स्थानीय कृषकलाई यो वर्ष मात्र ८० वटा उन्नत जात गाई वितरण गरेका छौँ ।”

बालबालिका, गर्भवती, सुत्केरी तथा बृद्धाबृद्धको स्वास्थ्यलाई ध्यानमा राखेर गाउँपालिकाले पोषण तथा स्वास्थ्यको क्षेत्रमा  विभिन्न खालका काम गरिरहेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। नागरिकलाई अर्ग्यानिक(जैविक) खेती प्रणालीमा जोड्न महिला विकास वोर्डमार्फत गँड्यौला बनाउने, प्राङगारिक मल बनाउनेलगायतका कार्यक्रमसमेत सञ्चालन भइरहेको उपाध्यक्ष राईले जानकारी दिइन् । “हामीले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका छौँ”उनले भनिन्,“रासायनिक मलको प्रयोगका कारण पनि धेरै किसिमका रोग लाग्ने भएकोले स्वास्थ्यकर कृषि उत्पादनमा जोड दिएका हौँ । कृषकलाई जैविक खेती प्रणाली लाग्न आवश्यक प्रोत्साहनसँगै सचेतनाका कार्यसमेत गरिरहेका छौँ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here