

काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीदेखि तेमाल गाउँपालिकाको मेच्छेसम्मको १३ किलोमिटर सडक स्तरोन्नतिको समयसीमा सकिएको आठ महिना बित्यो । डिभिजन सडक कार्यालय भक्तपुरले उक्त सडकखण्ड स्तरोन्नतीका लागि विसं २०७९ साउन १६ गते २० महिनामा निर्माण सक्नेगरी ठेक्का लगाएको थियो ।
भकुण्डेबाट मेच्छेसम्म दुई खण्डमा १३ किमी सडक कालोपत्र गर्नेगरी निर्माण कम्पनी केएस देवी रमन÷तेज जेभीलाई २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने थियो । तर, समयसीमासम्म २५ प्रतिशतसमेत काम नभइ आठ महिनादेखि अलपत्र अवस्थामा हो । सम्झौताअनुसार गत साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने थियो ।


उक्त सडकखण्ड बिपी राजमार्गको वैकल्पिक मार्गको रुपमासमेत अगाडि बढाइएको हो । गत असोज दोस्रोसाता रोशी खोलाको बाढीले करिब १३ किलोमिटर राजमार्ग क्षतिग्रस्त हुँदा यही खडकखण्डबाट सिन्धुली र काभ्रेपलाञ्चोकतर्फ रोकिएका सयौँ सवारी आवतजावत गराइएको थियो । नमोबुद्ध नगर तथा तेमाल गाउँपालिकाले पटक–पटक सडक कार्यालयमा ताकेता गर्दासमेत निर्माण कम्पनीमार्फत कामलाई तीव्रता दिन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो ।
ठकेदार कम्पनीलाई सडक निर्माणलाई तीव्रता दिन पटक पटक ताकेता गर्दासमेत वेवास्ता गरेका कारण आयोजना लथालिङ्गको अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । “आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणले गति नलिँदा यस्तो अवस्था आयो”, उनले भने । उनका अनुसार गुणस्तरीय निर्माणमा पनि शङ्का गर्नुपर्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोक, तथा स्थानीय जनप्रतिनिधिले पटक–पटक अनुगमन गर्दै तालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको प्रगति विवरण पेस गर्न निर्माण कम्पनीलाई निर्देशन दिँदै आएका थिए । तेमाल गाउँपालिकाका जनप्रतिनिधिको टोलीलेसमेत हाल डिभिजन कार्यालयलाई ध्यानाकर्षण गर्दै सडकको काम छिटो सम्पन्न गराउन ताकेता गरेको जनाइएको छ ।
यसैबीच निर्माण कम्पनीले आउँदो असार मसान्तसम्म चार महिना समय थपको माग गर्दै डिभिजन कार्यालयमा निवेदन दिएको छ । कार्यालयको इञ्जिनियर विन्दु अधिकारीले निर्माण कम्पनीले समय थपको माग निवेदन दिई रोकिएको काम सुरु गर्न लागेको बताए । उक्त सडक स्तरोन्नति एवं विस्तारमा ढिलाइ हुँदा हिउँद÷वर्षामा सडकयात्रीले निकै सास्ती खेप्नुपरेको छ ।
