दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेर गएको बताएका छन् । जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजना तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घको सहकार्यमा आजदेखि सुरु भएको ‘प्रथम राष्ट्रिय पानी सम्मेलन–२०८१’को उद्घाटन गर्दै उनले पानीको स्रोतको उचित उपयोगमा जोड दिए ।

सरकारले पानीको संरक्षणसँगै पानीबाट सिर्जित चुनौतीको व्यवस्थापनलाई सँगसँगै अगाडि बढाइरहेको उनले बताए । मन्त्री खड्काले पानी र यसका स्रोतको संरक्षणमा सबै नागरिक सक्रिय हुनुपर्ने बताए ।


मन्त्री खड्काले नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय गरी तीन वटै तहलाई जलस्रोतको समुचित प्रयोग र संरक्षणको जिम्मेवारी दिएको तथा राष्ट्रिय जलस्रोत नीति–२०७७ ले मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरणका लागि अधिकतम उपयोगमा जोड दिएको बताए । हिमालय पर्वत शृङ्खलाबाट उत्पन्न नदी तथा हिमनदीले देशको ऊर्जा, कृषि, पर्यटन र जैविक विविधताको आधार निर्माण गरेको मन्त्री खड्काको भनाइ थियो ।

जलवायु परिवर्तनका असरलाई घटाउँदै जलस्रोतको दिगो उपयोगका लागि स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदारीलाई विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here