

भक्तपुर । मध्यपुरथिमि नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खोटाङ कोपिलासगढी गाउँपालिका-२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको हत्या अभियोगमा रोल्पा परिवर्तन गाउँपालिका-६ घर भई हाल बोडे बस्ने ५७ वर्षीय हिमाल बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।


यही चैत १० गते साँझ सुत्न जाने बेलामा बुढामगरको साथमा रहेको रु. १०० राईले खोसर लिएको र फिर्ता माग्दा नदिएपछि आवेशमा आएर राईलाई भुईँमा लडाएर ढुंगाले पटक पटक हानेर हत्या गरेको बयानको क्रममा खुलेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए । घटनामा संलग्न रहेका मगरलाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
त्यसै गरी गत फागुन २७ गते साँझ मध्यपुरथिमि नगरपालिका-२ सानोथिमि मगरगाँउ जाने राधाकृष्ण सडक खण्डमा ३२ वर्षीय लक्ष्मण खड्काको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।
सडकमा घाइते अवस्थामा भेटिएका खड्काको कुटपिटबाट मृत्यु भएको जानकारी चिकित्सकले बताएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको थियो । उनको हत्यामा संलग्न रहेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका-९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका-३ चकमके घर भएको २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
पक्राउ परेकालाई थप पाँच दिन हिरासतमा राखेर अनुमतिमा म्याद थप गरी घटनाका थप अनुसन्धान भइरहेको उनले बताए ।
