दक्षिण कोरियामा डढेलोमा परी २६ जनाको मृत्यु, दशौं हजार विस्थापित



बीबीसी । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले धेरै वनजङ्गल जलाउनुका साथै मानवीय क्षति गराएको बताएका छन् ।

हालसम्म त्यसबाट २६ जनाको मृत्यु पुष्टि भएको छ भने दशौँ हजार मानिसहरू विस्थापित बनेका छन् । अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन् । प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन् । मार्च २१ मा सुरु भएको डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ ।


डढेलो नियन्त्रणका लागि हजारौं सङ्ख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ । दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुँदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ ।

अधिकारीहरूले उक्त डढेलोलाई त्यहाँ विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन्। हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन् । डढेलो निभाउन तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ ।

आगलागीले सांस्कृतिक धरोहरहरूमा समेत ठूलो खतरा निम्त्याइरहेको बताइएको छ। इसङ सहरमा आगोले इस्वी संवत् ६१८ मा निर्मित त्यहाँको ठूलोमध्येको एक गौन्सा मन्दिरलाई ध्वस्त पारेको छ । दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रभर ऐतिहासिक कलाकृतिहरूलाई आगोको पहुँचबाट बाहिर निकाल्न मानिसहरू सङ्घर्षरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here