

बैङ्कक, थाइल्याण्ड । युद्धग्रस्त म्यान्मा र छिमेकी मुलुक थाइल्याण्डमा गएको शक्तिशाली भूकम्पमा परी एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै व्यापक क्षति भएको छ । विश्व समुदायबाट भूकम्प प्रभावित क्षेत्रमा आर्थि राहत तथा सहायता र भौतिक सहयोग आउने क्रम जारी रहेको छ । भूकम्पका कारण म्यान्मामा हजारौँ व्यक्ति मारिएका हुनसक्ने घटनास्थलमा पुगेका सहयोगी समूहहरूले जानकारी गराएका छन् ।
– विश्व स्वास्थ्य सङ्गठन –


विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले भूकम्पपछिको ‘ट्रमा इन्जुरी’ सामग्री तयार गर्न दुबईमा रहेको आफ्नो केन्द्रलाई परिचालन गरिरहेको र यसको आपतकालीन व्यवस्थापन प्रतिकार्यलाई गति दिएको जनाएको छ ।
प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभास्थित मुख्यालयबाट भूकम्प प्रतिकार्यका लागि समन्वय गरिरहेको जानकारी दिँदै भने, “हामी यसलाई ठूलो घटनाका रुपमा हेरिरहेका छौँ।”
– चीन –
बेइजिङको आपतकालीन व्यवस्थापन मन्त्रालयले शनिबार ८२ जनाको उद्धार टोली म्यान्मा पठाएको जनाएको छ । चीनको युनानबाट एउटा छुट्टै उद्धार टोली शनिबार म्यान्माको व्यापारिक केन्द्र याङ्गुन आइपुगेको सीसीटीभीले जनाएको छ ।
चीन सरकारले म्यान्मालाई आपतकालीन मानवीय सहायताका लागि १० करोड युआन (एक करोड ३८ लाख अमेरिकी डलर) पनि उपलब्ध गराउने घोषणा गरेको छ ।
–भारत–
म्यानमामा शनिबार एक भारतीय सहायता विमान अवतरण गरेको छ ।
भारतीय विदेशमन्त्री सुब्रमण्यम जयशङ्करले सी–१३० सैन्य परिवहन विमानलाई हाइजिन किट, कम्बल, खाद्य पार्सल र अन्य आवश्यक सामग्रीहरू लिएर पठाइएको जानकारी दिए । उनले भने, “सहयोग लिएर गएको उडानमा खोजी तथा उद्धार टोली र मेडिकल टोली पनि रहेको छ ।”
उनले घटनाक्रमको अनुगमन जारी राख्ने र थप सहयोग पठाइने पनि उल्लेख गरे ।
–अमेरिका–
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यान्मा भूकम्पपछि त्यहाँको प्रभावित क्षेत्रका वासिन्दालाई सहयोग गर्ने बताएका छन् । “यो भयानक प्राकृतिक विपत्ति भएको छ,” ट्रम्पले ओभल अफिसमा पत्रकारसँग भने ।
“यो वास्तविक एक विनाशकारी विपत्ति हो । हामी मद्दत गर्नेछौँ। हामीले प्रभावित मुलुकसँग कुरा गरिसकेका छौँ ।”
– दक्षिण कोरिया –
दक्षिण कोरियाको विदेश मन्त्रालयले भूकम्पपछि ‘तत्काल उद्धार र राहत कार्यमा सहयोग गर्न’ २० लाख अमेरिकी डलर मानवीय सहायता पठाउने जनाएको छ ।
“कोरियाली सरकारले आफ्नोे सहयोगले प्रभावित क्षेत्रमा जीवन बचाउन र दुःख कम गर्न मद्दत गर्ने आशा गरेको छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सियोलले पनि स्थितिको मूल्याङ्कन र प्रभावित मुलुकसँग राय लिई थप सहयोग पठाउन सक्ने बताएको छ ।
–इरान–
इरानको विदेश मन्त्रालयले शनिबार म्यान्मा र थाइल्याण्डका जनता र सरकारप्रति तेहरानको समवेदना पठाउँदै मानवीय प्रयासमा सहयोग गर्न तयार रहेको बताएको छ ।
“विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाइद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा राहत र उद्धार प्रक्रियामा सहयोग गर्न इरान तयार रहेको घोषणा” गरिएको छ ।
–मलेसिया–
मलेसियाको विदेश मन्त्रालयले म्यान्मामा पनि टोली पठाउने जनाएको छ । मन्त्रालयका अनुसार एक जना कमाण्डरसहित ४९ जना तालिमप्राप्त उद्धारकर्मीले जारी मानवीय तथा विपद् राहत कार्यमा सहयोग पुर्याउने छन् ।
म्यान्मा र थाइल्याण्ड सदस्य रहेको दक्षिणपूर्वी एशियाली समूह आसियान दुवै देशलाई सहयोग गर्न तयार रहेको विदेशमन्त्री मोहम्मद हसनले बताए ।
–इन्डोनेसिया–
इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले म्यानमा र थाइल्याण्डप्रति समवेदना प्रकट गर्दै सहयोगको प्रस्ताव गरेका छन् । “यस कठिन घडीमा हाम्रो विचार र प्रार्थना दुवै देशका जनताको साथमा छ”, उनले भनेका छन्, “इन्डोनेसिया प्रभावित क्षेत्रमा उद्धारप्रयासका लागि आवश्यक सबै सहयोग गर्न तयार छ ।”
