

तनहुँ । सवारी दुर्घटनामा परी तनहुँमा नौ महिनामा ४८ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको फागुनसम्ममा भएका ४४ वटा सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका हुन् । ती दुर्घटनामा ८१ जना घाइते भएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कृष्णबहादुर चन्दका अनुसार ती दुर्घटनामा २४ पुरुष, २० महिला र चार बालबालिकाको मृत्यु भएको हो । चालु आवको साउनमा मृत्यु नभएको, भदौमा २९, असोजमा चार, कात्तिकमा दुई, मङ्सिरमा एक, पुसमा दुई, माघमा आठ, फागुनमा एक र चैत १० गतेभित्र थप एक जनाको मृत्यु भएको छ ।


सोही अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने २४ हजार छ सय ४१ सवारीबाट रु. दुई करोड तीन लाख ४० हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयले नियम उल्लंघन गर्ने ट्रक, टिपर, बस, जिप, मोटरसाइकल, स्कुटरलगायत सवारीलाई कारबाही गरी उक्त रकम असुलेको हो ।
तीव्र गतिमा सवारी चलाउनेलाई राडरगनका माध्यमबाट समयसमयमा अनुगमन गरी कारबाही पनि हुँदै आएको उनले जानकारी दिए ।मुग्लिन-पोखरा सडक विस्तार भइरहेकाले दुर्घटना जोखिम घटाउन सुरक्षाकर्मीले हर सम्भव प्रयास गरेका उनले बताए ।
