ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ, सरकारले कडा कदम चालोस्ः प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजावादी समूहको हिंसात्मक प्रदर्शनबाट पूर्वराजा ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा पुष्टि गराएको बताएका छन् ।

आज (शनिबार) प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय अवलोकनमा आएका प्रचण्डले अब राज्यले आपराधिक गतिविधिविरुद्ध कडा कदम चाल्नुपर्ने बताए । उनले अपराधीहरु सबैलाई छानविन गरी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेका छन् ।


‘जे भइराखेको छ, अब एकदम प्रष्ट छ– यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने कुरा इतिहासमा पनि देखिएको हो । अहिले पनि देखिएको छ । त्यसकारण यही नै समय हो सरकारले कडा कदम चालोस् । अपराधीहरु सबैलाई छानविन गरेर कारबाहीको दायरामा ल्याओस् । ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन । नेपाल जनता त्यसको लागि तयार छैनन् । यसमा पनि सरकार गम्भीर बनोस्,’– सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

साथै, राजधानीको मुटुमा विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षाकर्मी (प्रहरी) समयमै आउन नसक्नुलाई पनि सरकारले गम्भीर रुपमा समीक्षा गर्नुपर्ने उनले बताए । आगामी दिनमा पनि यस्ता घटना दोहोरिन सक्ने भन्दै पूर्ण तयारीमा बस्न सरकारलाई सुझाव दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here