चीनको छेन्दुबाट पोखरामा सिचुवान एयरको व्यावसायिक उडान सुरु



पोखरा । चीनको छेन्दुबाट आएको सिचुवान एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

मंगलबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरको जहाज अवतरण गरेको हो । यो जहाजले आज पोखराबाट छेन्दुका लागि पहिलोपटक व्यवसायिक चाटर्ड उडान गर्दैछ ।


पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलो पटक पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक ‘चार्टर्ड’ उडान गर्न लागिएको हो ।

लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्षसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् ।

उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट तीनवटा चार्टर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिएका छन् ।

चार्टर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । चीनस्थित चाइना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ ।

यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here