

काठमाडौँ । घोडे जात्राका अवसरमा ललितपुरस्थित चामुण्डा माई र बालकुमारी माई देवीलाई खटमा राखेर टोल टोलमा घुमाइ एकापसमा मिलन गराएर जात्रा मनाइएको छ । परम्पराअनुसार मंगलबजार क्षेत्रमा पुगेपछि दुवै देवीलाई मिलन गराई पुन:आफ्नै मन्दिरमा राखिने गरिएको छ ।
ललितपुर महानगरपालिका वडा नं ९ र ११ को पहलमा धिमे बाजासहित पूजाआजा गरी विभिन्न रुटमा घुमाएर आज घोडे जात्रा अवसरमा पाटनका स्थानीयले यो जात्रा मनाएका हुन् । स्थानीयलाई रोग व्याधि, भयबाट मुक्त गराउन तथा भौतिक बाधा अड्चन नहोस् भनेर पाटन नगरभित्र लिच्छवीकालदेखि नै यो जात्रा मनाइँदै आएको यस क्षेत्रका स्थानीयले बताएका छन् ।


किंवदन्तीअनुसार दिदी बालकुमारी माईलाई बहिनी चामुण्डा माईले तीन पटक परिक्रमा गरेपछि दुवै देवीलाई पुन:आफ्नै मन्दिरमा राखिने गरिएको चामुण्डा माई जात्रा व्यवस्थापन समितिका सचिव राजेश्वर महर्जनले जानकारी दिए ।
यस क्षेत्रका स्थानीयले भेला भई खानाका परिकार खाएर नाँचगान गरी एक अर्कामा मिलन र खुसी साटासाट गर्दै नायखी बाजाको तालमा देवीको परिक्रमा गराई यो जात्रा मनाएका छन् ।
