गणतन्त्रवादीले भृकुटीमण्डपमा, राजावादीले तीनकुनेमा शक्ति प्रदर्शन गर्दै,  ३५ सय प्रहरी परिचालन



काठमाडौं । काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गर्दैछन् । प्रदर्शन हुने भएपछि सरकार र स्थानीय प्रशासनले उपत्यकाको सुरक्षालाई सुस्त बनाएको छ। प्रदर्शनका लागि निश्चित क्षेत्र तोकेर सरकारले सुरक्षा व्यवस्थापन कडा बनाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डप र राजतन्त्र पक्षधर समूहलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । दुई प्रदर्शनको सुरक्षा मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले संयुक्त सुरक्षा संयन्त्र तयार पारी आवश्यक सुरक्षा व्यवस्था तयार पारेका छन् ।


मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईँसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईँसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आकलन गरिएको छ ।

गणतन्त्र पक्षधरको प्रदर्शन समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र नेकपा विप्लव समूह मिलेर गर्दैछन् भने राजतन्त्रसहितको हिन्दुराज्यको माग राखी राप्रपासहित विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ नामबाट प्रदर्शनको तयारी गरेको छ। यो समूहका प्रवक्ता स्वागत नेपालले आन्दोलनका स्वरुपलाई पूर्ण रुपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन आन्दोलनरत पक्षसँग अनुरोध गरेका छन्।

भद्रकालीमा कमान्ड सेन्टर, एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन
दुई पक्षधरले शक्ति प्रदर्शनको तयारी गरेपछि सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।

सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।

पूर्वराजा समर्थक चक्रपथ बाहिर, समाजवादी मोर्चा चक्रपथभित्र

पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।

भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई  प्रहरीले कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ ।

समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् ।  सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार  स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here