क्यानडामा आमनिर्वाचन घोषणा



बीबीसी । क्यानडामा आगामी अप्रिल २८ मा निर्वाचन हुने भएको छ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक नीतिहरूबाट जोगिन र क्यानडालाई बलियो जनादेश आवश्यक रहेको उल्लेख गर्दै आमनिर्वाचन घोषणा गरेका हुन् ।

कार्नीले १० दिनअघि मात्र क्यानडाको प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनले ९ फेब्रुअरीमा लिबरल पार्टीको नेताको चुनावमा ८५.९ प्रतिशत मत प्राप्त गरी विजय हासिल गरेका थिए ।


ठूलो आर्थिक साझेदार अमेरिकाले व्यापार युद्ध सुरु गरेको र त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पले क्यानडालाई ५१औँ अमेरिकी राज्य बनाउने धारणा सार्वजनिक गरेको अवस्थामा क्यानडाका मतदाताहरूले देशको सत्ता हाँक्ने पार्टी छान्ने निर्णय गर्ने छन् ।

क्यानडाको यो निर्वाचनमा आवास र आप्रवासनजस्ता घरेलु मुद्दाहरू निकै महत्त्वपूर्ण हुनेछन् । क्यानडा र अमेरिकाको अर्थतन्त्र अन्तरसम्बन्धित छ। दुवै देशले निकै लामो समयदेखि सुरक्षा साझेदारी गर्दै आएका छन् ।

ट्रम्पको हस्तक्षेपका कारण क्यानडाको राजनीतिमा यसअघि नै परिवर्तन भइसकेको थियो। । त्यहाँ कन्जर्भेटिभहरूले जित्ने जस्तो पक्का परिस्थिति फेरिएर लिबरल र कन्जर्भेटिभबीच कडा प्रतिस्पर्धा हुने र कसले जित्छ भनेर यसै भन्न नसकिने अवस्था उत्पन्न भएको छ ।

अब बन्ने प्रधानमन्त्रीले डोनल्ड ट्रम्पसँग व्यवहार गर्नुपर्छ भन्ने कुरा क्यानडाका नागरिकहरूलाई राम्ररी थाहा छ । प्रतिस्पर्धा मूलतः नयाँ लिबरल नेता मार्क कार्नी र सन् २०२२ देखि कन्जर्भेटिभहरूको नेतृत्व गरिरहेका प्येअर पोलिभबीच छ ।

त्यहाँको संसद्का दुई अन्य दलहरू– वामपन्थी झुकाव राख्ने न्यू डेमोक्र्याटिक (एनडीपी) र ब्लक केबेक्वा पनि प्रतिस्पर्धा गर्दै छन्। तर अहिलेसम्म कन्जर्भेटिभ र लिबरल पार्टीको नेतृत्वमा मात्रै सरकार बनेको इतिहास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here