

मस्को । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाले रुसको पश्चिमी कुस्र्क क्षेत्रबाट पछि हट्दै गर्दा ‘जानाजानी सुड्झा ग्यास मिटरिङ स्टेशन’ लाई विस्फोट गराएको जनाएको छ ।
युक्रेनी सीमाबाट केही सय मिटर टाढा रहेको उक्त ग्यास स्टेशन अगस्ट सन् २०२४ देखि युक्रेनी नियन्त्रणमा रहेको मन्त्रालयले जनाएको छ । रूसले हालै सुड्झामाथि पुनः नियन्त्रण प्राप्त गरेको छ ।


रुसको अनुसन्धान समितिले शुक्रबार स्टेशनमा भएको विस्फोटको अनुसन्धान सुरु गरेको घोषणा गरेको छ । समितिले युक्रेनी सेवादारहरूले बिहीबार जानाजानी ग्यास स्टेशनमा विस्फोट गराएको र त्यसबाट ठूलो क्षति भएको बताएको छ ।
युक्रेनी सशस्त्र बलका जनरल स्टाफले सामाजिक सञ्जाल फेसबुकमा युक्रेनले ग्यास स्टेशनमा गोलाबारी गरेको सम्बन्धमा रूसको दाबी ‘आधारहीन’ रहेको र स्टेशनमा रूसीहरूले आफैंले बारम्बार गोलाबारी गरेको छ ।
पाँच वर्षे यातायात सम्झौताको म्याद सकिएपछि जनवरी १ मा सञ्चालन बन्द नभएसम्म यो स्टेशन युक्रेन हुँदै युरोपमा रूसी ग्यास निर्यातको लागि एक प्रमुख प्रवेश बिन्दु थियो ।
