

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गर्दै यस बिषयमा प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताएका हुन् ।


एकजनालाई हटाएर अर्को लाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जो भन्यो त्यही नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे ।
प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो । सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन् ।”
प्रधानमन्त्रीले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको आरोप लगाउँदै हल्का र उत्ताउलो नहुन बिपक्षी दललाई सुझाव दिए ।
प्रधानमन्त्रीले भने, “यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।”
प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्न चेतावनी दिदै ओलीले बिपक्षी दल चिसै पानीले नुहाउनुपर्ने अवस्थामा आउने तर्क गरे । त्यस्तै उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको स्पष्ट पारे ।
