

काठमाडौं । विपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधिसभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् ।
बुधबार बिहान बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद अवरोध गर्ने निर्णय गरेको रास्वपाका सांसद सन्तोष परियारले जानकारी दिए । बैठकले दुई तिहाईको दम्भका साथ र मन्त्रीको जोडबलमा कुलमानलाई गलहत्याउने काम गरेको भन्दै आपत्ति जनाएको छ ।


परियारले भने, ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई जुन अलोकातान्त्रिक तरिकाले जसरी दुई तिहाईको दम्भका साथ र मन्त्रीको जोडबलमा गलहत्याउने काम गरियो त्यसका विरुद्ध हामीले सदनमा सशक्त आवाज उठाउने निर्णय गरेका छौं । साथै आजको सदनमा प्रश्न गर्ने र त्यस कार्यको विरोध गर्ने निर्णय गरेका छौं ।’
बैठकमा सरकारका पछिल्ला निर्णयहरु र राजनीतिमा भएका घटनक्रममका विषयमा समेत छलफल भएको थियो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, रास्वपा कार्यवाहक अध्यक्ष डीपी खनाल, नेसपा अध्यक्ष महिन्द्रा राय यादवलगायत सहभागी थिए ।
