

काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजवादीको घटनाको पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय निकालेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । ‘राजावादीको नाममा भएको गतिविधिको समीक्षा भयो र गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गरेपछि हिजो भएको घटनामा सबै कब्जा गर्ने उहाँहरूको लक्ष्य देखियो, त्यसको सबै जिम्मेवारी उहाँले (पूर्वराजा) लिनुपर्छ,’ बैठकपछि पत्रकारहरूसँग महतले भने ।


भिड अराजक देखिएको र घटनाप्रति आफूहरू गम्भीर भन्दै भर्त्सना गरेको पनि उनले बताए ।
‘राजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्यो। निजी घर, व्यसायीक घर, मिडिया हाउसमा तोडफोड गरियो। त्यसको कांग्रेसले भर्त्सना गरेको छ,’ प्रवक्ता महतले भने, ‘यो निरंकुश शासन लाद्ने मनसायका साथ यो घटना घटाइएको छ। सिधै यहाँ-यहाँ आक्रमण गर्ने योजना भएको छ। यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’
उनले आन्दोलन शान्तिपूर्ण हुने भनिए पनि गलत मनासयका साथ अराजकता मच्चाउने कार्य भएको बताए । पूर्वराजाकै योजनामा आन्दोलन समिति बनाइएको कांग्रेसले दाबी गरेको छ । यस्तै कांग्रेसले वर्तमान संविधान पक्षधरको बैठक बोलाउने निष्कर्षसमेत निकालेको उनले बताए ।
