

काठमाडौँ । संयुक्त कर्मचारी ट्रेड युनियन सञ्जालको प्रतिनिधिमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएका छन् ।
सिंहदरवारस्थित माओवादी संसदीय दलको कार्यालय पुगेर उनीहरूले संघीय निजामती सेवा ऐनमा समावेश गर्नुपर्ने अन्तर्वस्तु सम्बन्धमा सञ्जालका साझा धारणाको रूपमा मागपत्र बुझाएका हुन् ।


निजामती विधेयक प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधीन छ । उक्त विधेयक संघीयता कार्यान्वयनसँग समेत जोडिएको विधेयक हो ।
कर्मचारीहरूको माग पत्र बुझ्दै ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको संयुक्त जनआन्दोलन, संविधान निर्माण, संघियताको प्रशासनिक कार्यान्वयन र जनताको घरदैलोमा सेवा प्रवाह गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरेका छन् ।
निजामती विधेयक अगाडि बढाउँदा कर्मचारीको वृतिविकास तथा पेशागत अधिकार थप व्यवस्थित गर्न पार्टीको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।




