एमालेलाई शेखरको प्रश्नः ‘अहिले आन्दोलन गर्ने उपयुक्त समय हो ?’



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीतिक दल र नेतृत्वप्रति जनतामा व्यापक वितृष्णा रहेको बताएका छन् । आज (शुक्रबार) मोरङ काठमाडौं सम्पर्क समितिले काठमाडौंमा अयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दल र नेतृत्वप्रति जनतामा रहेको आक्रोशलाई सम्बोधन गर्न सक्नुपर्ने बताएका हुन् । उनले जनतामा रहेको वितृष्णा नहटाइ अगाडि बढ्ने काम भएको खण्डमा फेरि अर्को दुर्घटना हुनसक्ने बताए ।

साथै, नेता कोइरालाले सरकारकै नेतृत्व गरेको नेकपा (एमाले) ले विभिन्न आन्दोलनको कार्यक्रमहरु घोषणा गरेको भन्दै आपत्ति जनाए । उनले अहिले आन्दोलनको उपयुक्त समय नरहेको पनि बताए । ‘सरकारको नेतृत्व गर्ने एउटा पार्टीले देशभरी जागरण अभियान सुरु गरेछ । अहिले त्यो उपयुक्त समय हो ? भनेर हामीहरुले प्रश्न गर्नुपर्ने बेला छ,’– नेता कोइरालाले भने । एमालेले आगामी चैत ११ गतेदेखि महिनाभरी नै विभिन्न अभियान र भेलालगातका कार्यक्रम सार्वजनिक गरिसकेको छ ।


साथै, उनले पार्टीको १५औं महाधिवेशन २०८२ साल मंसिरको मसान्तभित्रै हुनुपर्ने बताए । उनले आफू पक्षीय नेता तथा कार्यकर्ताहरुलाई आफ्नो तर्फबाट दैनिक ‘नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्र हुनुपर्छ’ भन्ने सन्देश लेखेर माहोल बनाउनसमेत आग्रह गरे ।

‘अधिवेशन तपाईँहरुलाई चाहिएको छ, हामीजस्तालाई चाहिएको छ । त्यसैले तपाईँहरुले आवाज उठाउन जरुरी छ । सामाजिक सञ्जालमा तपाईँहरु दिनदिनै केही न केही लेखिरहनु हुन्छ । मेरोतर्फबाट तपाईँ एउटा नोट हाल्दिनुस्– नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ को मंसिर मसान्तभित्र हुनुपर्छ भनेर लेख्नुस् त । कति प्रेसर पर्दौरहेछ हेर्नुस् त तपाईँहरु । को जित्छ, हार्छ आफ्नो ठाउँमा छ । हामीहरु त्यतातिर ध्यान दिएर अगाडि बढौं,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here