इजरायलद्वारा गाजामा व्यापक हवाई हमला, कम्तीमा दुईसय जनाको मृत्यु



बीबीसी । इजरायली लडाकु विमानहरूले गाजाका विभिन्न भागमा युद्धविराम सुरु भएयताकै ठूला हवाई हमलाहरू गरेका छन् । गाजाका अधिकारीहरूले उक्त हमलामा कम्तीमा २०० जनाको मृत्यु भएको बताएका छन् ।

ज्यान गुमाउनेमा उक्त भूभागमा रहेका हमासका उच्च सुरक्षा अधिकारी मोहम्मद अबु वत्था पनि रहेको बताइएको छ । आक्रमणमा उच्च प्रहरी अधिकारी र हमासका राजनीतिक व्यक्तिहरूलाई पनि निसाना बनाइएको थियो । एउटा विज्ञप्तिमा इजरायलले हमासले पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेकाले आफूले उक्त समूहका निसानाहरूमा आक्रमण गरिरहेको बताएको छ ।


प्यालेस्टिनी समूहले सोझै दोस्रो चरणको युद्धविराममा जानुपर्ने धारणा राख्दै आएको थियो । हमासलाई दबाव दिन इजरायलले गाजामा मानवीय सहायता र विद्युत् आपूर्ति कटौती गरेको छ ।

हमासले इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौता उल्ट्याएको आरोप लगाएको छ । उसले सो हमलाले बाँकी इजरायली बन्धकको भविष्यलाई अन्योलपूर्ण बनाएको पनि जनाएको छ ।

इजरायली अधिकारीले आक्रमण आवश्यक रहुन्जेल जारी रहने र हवाई हमलामा मात्रै सीमित नरहने बताएका छन् । इजरायलले गाजा नजिकैका विद्यालयहरू हवाई हमलापछि आफूले बन्द गरेको जनाएको छ ।

मध्यगाजामा तीनवटा घरमा हमला गरिएको छ भने गाजा सिटीको एउटा भवन तथा खान युनिस र रफाहका विभिन्न स्थानमा पनि हमला भएको प्रत्यक्षदर्शी र स्वास्थ्यकर्मीलाई उदृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ । जनवरी १९ मा युद्धविराम आरम्भ भएयता इजरायलले गाजामाथि गरेको हवाई हमलाको यो सबैभन्दा ठूलो शृङ्खला हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here