

काठमाडौं । आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौं टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरेका हुन् ।


उनले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।
“प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छ”, मन्त्री भण्डारीले भने ।
स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने भएकाले दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरी सरकार अगाडि बढ्ने उनले बताए ।
