

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब घरमै लोडसेडिङ सुरु हुने अवस्था रहेको बताएका छन् । आज (बुधबार) राष्ट्रिय सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले विगतमा पनि कहिल्यै लोडसेडिङ अन्त्य नभएको, अहिले पनि लोडसेडिङ बाँकी नै रहेको बताए । नेपाल सरकारको १०० प्रतिशत लगानी हुँदा पनि प्राधिकरणले अहिलेसम्म ७ सय मेगावाट मात्रै विद्युत उत्पादन गरेको, २८ सय मेगावाटमा निजी क्षेत्रको योगदान रहेको र ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनले बताए ।
‘हामीसँग अहिले ३५ सय मेगावाट विद्युत छ । विद्युत प्राधिकरण जो सरकारको १०० प्रतिशत लगानी छ । त्यसले ७ सय मेगावाट मात्रै उत्पादन गरेको छ । २८ सय मेगावाट निजी क्षेत्रले उत्पादन गरेको छ । लोडसेडिङ छ, हिजो पनि थियो, आज पनि छ । लोडसेडिङ छैन भनेर घोषणा गर्दैगर्दा पनि लोडसेडिङ थियो, छ । म दाबीको साथ भन्न सक्छु । खाली घरमा बत्ती दिने काम गरिएको थियो । उद्योग धन्दातिर कटौती गरिएको थियो । आज पनि त्यही छ । अिहले भर्खरै म यहाँ बसेर कुरा गर्दा ८३० मेगावाट विद्युत भारतबाट आयात भइराखेको छ । साँझमा अब लोडसेडिङ घरमै पनि हुने अवस्था छ,’– उनले भने ।


निजी क्षेत्र र भारतबाट आयात गरिएको विद्युतले केहीमात्रामा लोडसेडिङ हटेको हो कि जस्तोमात्रै भएको उनले बताए । मन्त्री खड्काले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालोका नायक भन्न नसकिने बताए । बरु निजी क्षेत्र र भारत सरकारलाई धन्यवाद दिनु उपयुक्त हुने उनको भनाइ छ ।
साथै, महालेखाको प्रतिवेदनअनुसार प्राधिकरण अहिले साँढे दुई खर्ब घाटामा रहेको पनि उनले बताए । केही मान्छेहरुले भने प्राधिकरण नाफामा रहेको भनी भ्रम फैलाएको उनले बताए । प्राधिकरण नाफामा रहेको कुरामा कुनै सत्यता नरहेको उनको दाबी छ ।
