अब यो सरकारबाट संविधानको रक्षा हुन सक्दैनः महेन्द्र राय



काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र राय यादवले वर्तमान सरकारबाट संविधानको रक्षा हुन नसक्ने बताएका छन् ।

आज (शुक्रबार) समाजवादी मोर्चाले आह्वान गरेको खबरदारी सभालाई सम्बोधन गर्दै नेता यादवले सरकारको पछिल्लो गतिविधिबाट अब यसले संविधानको रक्षा गर्न सक्दैन भन्ने पुष्टि भएको बताएका हुन् । उनले वर्तमान सरकारमा रहेका नेताहरुकै कारण संघीयतामाथि प्रहार भइरहेको बताए । उनले देशबाट गणतन्त्र अन्त्य गराउने प्रयत्न भए पुनः द्वन्द्वको सिर्जना हुने पनि चेतावनी दिए ।


‘अहिले जुन प्रकारको गतिविधिमा हिँडिरहेको छ, मलाई त लाग्दैन यो सरकारबाट अब संविधानको रक्षा हुन सक्दैन । संविधानको रक्षाको लागि, गणतन्त्रको रक्षाका लागि, संघीयताको रक्षाको लागि, धेरै ठाउँबाट संघीयतामाथि प्रहार भइराखेको छ । अहिले संघीयता हटाउन जुन प्रकारको प्रयास भइराखेको छ । यो देशमा संघीयता हट्यो भने देशमा द्वन्द्वको सिर्जना हुनसक्छ । त्यस कारणले भएको उपलब्धी रक्षा गर्नुपर्छ,’– उनले भने ।

साथै, सरकारले अनुचित तरिका र प्रतिशोधको भावनाबाट कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको बताए । उनले यस निर्णयमा पुनर्विचार गर्न उनले सरकारलाई सुझाव दिए । ‘कुलमान घिसिङलाई यो सरकारले अनुचित तरिका र प्रतिशोधको भावनाले हटाएको छ । यसलाई पुनः सरकारले गम्भीरताको साथ सोचोस् । त्यस्ता राष्ट्र सेवक कर्मचारीहरुलाई सरकारले सुधार गरोस्,’– उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here