

काठमाडौँ। अनलाइन जुवा (सट्टाबाजी) खेल्ने/खेलाउने कार्यमा संलग्न ११ जना भारतीयलाई प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ गरेको हो।
उनीहरू २ अर्ब ९६ लाखभन्दा बढी रकमको अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।


बुढानीलकण्ड नगरपालिका–३ देउला टोस्थित घर भाडामा लिई अनलाइन जुवा खेलाउने कार्य भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानमा उनीहरूले दुई अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने/खेलाउने गरेको र ९६ लाख ३३ हजारभन्दा बढी रकम बराबरको अभौतिक मुद्रा ‘क्रिप्टो करेन्सी’ को कारोबारसमेत देखिएको उनले बताए।
पक्राउ पर्नेहरूमा भारत राजस्थान प्रदेश जयपुर जिल्लाका २४ वर्षीय सनी मिणा, राजस्थान आलुवा जिल्लाका २५ वर्षीय मोहित वर्मा, राजस्थान शिक्कर जिल्लाका २६ वर्षीय पियुस भारद्वाज, राजस्थान जयपुरका २५ वर्षीय हरकेश डडैया र सोही स्थानका निशान्त भारद्वाज, आकाश वर्मा, अंकित वर्मा, सन्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकाश कुमार रहेका प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ३४ थान मोबाइल फोन, ल्यापटप ५ थान, हिसाबकिताबको अभिलेख राखिएको नोटबुक ४ थान, भारतीय बैंक खाताको चेकबुक १४ थान, भारतीय एटीएम कार्ड २७ थान र भारतीय सीमकार्ड ४० थान बरामद भएको छ।
काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
