राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा लगानी आवश्यक छः मुख्यमन्त्री कार्की



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाजवादोन्मुख समाज निर्माण गर्न राष्ट्रिय पुँजीको निर्माण हुनुपर्ने बर्ताएका छन् ।

विणा फाउण्डेशनद्वारा आयोजित तीनदिने ‘विचार उत्सव’ को उद्घाटन गर्दै उनले राष्ट्रिय पुँजी निर्माण गर्न कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा लगानी आवश्यक रहेको बताएका हुन् । मुख्यमन्त्री कार्कीले हिन्दूहरुको आस्थाका केन्द्र पशुपतिनाथ र शान्तिका दूत गौतमबुद्ध जन्मेको स्थान लुम्बिनीमा धार्मिक पर्यटकहरु उतार्न सकियो भने मुलुक निर्माणमा ठूलो सहयोग पुग्ने बताए ।


उनले विचार र नीतिको बहसबाट मुलुकलाई समृद्धतर्फ लैजान सकिने धारणा व्यक्त गरे । आगामी दिन कोशी चतरामा हुने कुम्भमा स्नानका लागि लाखौँ श्रद्धालु एवं भक्तालुहरु ल्याउने वातावरण निर्माणका लागि सरकारले काम गरिरहेकोसमेत उनले बताए ।

मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख डा.राजेश अहिराजले विचारले नै मानिसको संस्कार बुझिने भएकाले असल विचारबाट मात्र असल समाजको परिकल्पना गर्न सकिने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोशी प्रदेश भूगोल, इतिहास र सम्पदाले समृद्ध रहेको बताए ।